Merchandise Now
२ जेष्ठ २०८१, बुधबार

ताजा समाचार

ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन

६ चैत्र २०७९, सोमबार
भेरी करिडोरका आधा दर्जन पुल अलपत्र परेका छन् । क्याराभान कन्स्ट्रक्सनले ठेक्का सकारेका जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने आधा दर्जन पुल अलपत्र परेका हुन् ।

सडक विभागको पुल महाशाखाबाट ३६ महिनाभित्र निर्माण गर्ने गरी बोलपत्र गरिएको थियो । ठेक्का लिएको एक वर्ष बित्दासम्म काम नै सुरु भएको छैन । नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, तात्रगाड, झुम्रेखोला र नलगाडमा क्याराभान कन्स्ट्रक्सनले पुल निर्माण नगरेको हो । जाजरकोट, डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीको पुल क्याराभान कन्स्ट्रक्सनले लिएर ठेक्का बिक्री गरेको छ । दुई वर्षसम्म ठेक्का होल्ड गरेर उसले रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको हो ।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले खोलेको १५ करोडको ठेक्का क्याराभान कन्स्ट्रक्सनले १४ करोड १७ लाखमा रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको थियो । सडक डिभिजन चौरजहारीलाई जिम्मेवारी नदिएर काठमाडौंबाटै खोलिएका यी ठेक्का अहिले वर्ष दिनदेखि अलपत्र परेका छन् । डिजाइन स्टिमेट मन्त्रालयमा गत असोजदेखि थन्किएको छ । क्याराभान कन्स्ट्रक्सनका प्रमुख चन्द्र थकालीले डिजाइन स्टिमेट पास गर्न पुल महाशाखालाई ताकेता गरेर फिल्डमा आएर तत्काल काम गर्नुको साटो चुप लागेर बसेको आरोप लाग्दै आएको छ ।

अहिले भेरी नदीका केही ठाउँमा कम भार बहन क्षमताका बेलिब्रज पुल निर्माण गरेर यातायातका साधन सञ्चालन भइरहेका छन् । त्यस्तै जाजरकोटको तल्लुबगर, डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर वाइपी एमआर जेभी चितवनले ठेक्का पाएको थियो । २६ माघ २०७९ मा सम्झौता भइसकेको छ । सडक विभागको पुल महाशाखामा सम्झौता भएर अहिले डिजाइन स्टिमेटको काम भइरहेको छ ।

यो कामको अनुगमन तथा मूल्याकंनको काम पुल सेक्टर सुर्खेतले हेर्दै आएको छ । ६ महिनाभित्र डिजाइन गरिसकेर पुलको भौतिकतर्फको काम सुरु गर्नुपर्ने रहेको छ । त्यस्तै, डोल्पाको छलगाडमा समेत पक्की पुल निर्माणका लागि ठेक्का भइसकेको छ ।

भेरी करिडोर अन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पाको मरिमसम्म २३१.५ किलोमिटर लम्बाइ रहेको छ । भेरी करिडोरको जम्मा लम्बाई ३१० किलोमिटर रहेको छ । अहिले पासागाड–रिम्ना हुँदै तल्लु बगरसम्म पिचको काम सुरु भएको छ । यो सडक खण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा वर्षेनी सास्ती हुँदै आएको छ ।

अहिले एकाध ठाउँमा बेलिब्रिजबाट भेरी नदीमा पुल निर्माण भएपछि कम भारबहन क्षमता भएका ट्रकहरु डोल्पाको सदरमुकाम दुनै पुग्ने गरेका छन् । सडक डिभिजन चौरजहारीले यस सडक खण्डमा पिचको काम गर्दै आएको छ । यति बिल्डर्सले पिचको ठेक्का लिएको छ । ठूला भार बहन क्षमता भएका सवारीसाधन तथा बस सञ्चालन हुनका लागि यस सडक खण्डमा पक्की पुल निर्माण हुन जरुरी रहेको छ ।

Source:karobar